सिड्नी । गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाकी सचिव तथा कल्चरल परेडकी संयोजक सन्ध्या शाहले नेपाल फेस्टिभल सिड्नीको कल्चरल परेडमा सहभागी हुन न्यूसाउथ वेल्सवासी सबैलाई अनुरोध गरेकी छिन् ।
उनले सामाजिक सञ्जाल मार्फत भनेकी छिन् , ‘सम्पूर्ण सिड्नीवासी, सङ्घसंस्थाका प्रतिनिधिहरूलाई आफ्नो संस्थाको ब्यानर सहित नेपाली कला संस्कृति झल्किने पहिरन पहिरिएर परेडमा सहभागी हुनको लागी हामी विनम्र अनुरोध गर्दछौँ ।
परेडमा विभिन्न झाँकी, लाखे नाच, पञ्चकन्या, शिव, पार्वती, कुमारी रथ यात्रा, पञ्चे बाजा सहित परेडको सुरुवात हुनेछ। फेस्टिभलको सुरुवात बिहान ११ बजे बरूड पार्क नजिक भेला भएर नेपाल परेड शुरु हुनेछ । त्यसै गरी महोत्सवले अस्ट्रेलियामा रहेका नेपालीहरू बिच सद्भाव र भाइचारा अभिवृद्धि गर्न, बहु सांस्कृतिक अस्ट्रेलियामा सांस्कृतिक सामञ्जस्ययता कायम गर्न तथा नेपाललाई विश्वमाझ एक उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा चिनाउनसमेत मद्दत उनले बताइन् ।
नेपाली खानाका विभिन्न परिकारले महोत्सवमा उपस्थित सबैलाई नेपाली परिकार चाखेर नेपाली स्वादको झझल्को मेट्न मद्दत गर्नेछ भने नेपाली पोसाकमा सजिएर प्रस्तुत हुने विभिन्न साङ्गीतिक प्रस्तुतिले एक छिन नेपाल मैँ भएको अनुभूति धेरैलाई गराउनेछ। यसका साथै अस्ट्रेलियामा जन्मिएका नेपाली मूलका दोस्रो पुस्ताका नेपालीहरूले नेपालबारे जान्ने र बुझ्ने अनुपम मौका पाउनेछन् एनआरएनए अस्ट्रेलियाकी सचिव शाहले भनेकी छन् ।
नेपालीहरूको सबैभन्दाबढी जनसङ्ख्या रहेको राज्यमा हुने नेपाल फेस्टिभललाई समुदायले महत्त्वका साथ हेरेको छ । ‘देश एक, कथा अनेक’ नाराका साथ आयोजना गर्न लागिएको २०२२ को नेपाल फेस्टिभलले नेपाली कला, संस्कृति र परम्परालाई अस्ट्रेलियामा रहेका नेपाली तथा विदेशीलाई चिनाउनेछ।