उपहारमा आइफोन आएको भन्दै भन्सार शुल्क माग्ने दुई जना पक्राउ

उपहारमा आइफोन आएको भन्दै भन्सार शुल्क माग्ने दुई जना पक्राउ
नेपालआईज
८ भदौ २०८० १३:२५

 

नेपाल । उपहारस्वरूप आइफोन आइपुगेको र यसका लागि भन्सार शुल्क खातामा जम्मा गर्न लगाउँदै ठगी गर्दै आएका दुई जना पक्राउ परेका छन् ।

प्रहरीले पर्साका राजकुमार पण्डित र रौतहटका उमेशकुमार यादवलाई पक्राउ गरेको हो । उनीहरूले सामाजिक सञ्जालमार्फत ५० लाख रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

बडे भाइ र छोटे भाइको नाममा सञ्चालित दुबईको चर्चित जम जम इलेक्ट्रोनिक्स नामको फेक आईडी बनाएर उनीहरूले विमानस्थलमा उपहारमा आइफोन आइपुगेको र यसलाई छुटाउन भन्सार शुल्क माग्दै आएका थिए ।

जम जम इलेक्ट्रोनिक्सले नेपालीलाई गिफ्ट बाँड्ने भन्दै उनीहरूले आफ्नो गिफ्ट सुरक्षित गर्न ह्वाट्सएपमा सर्वसाधारणलाई म्यासेज गर्दै आएका थिए ।

ह्वाट्सएपमा म्यासेज गर्नेलाई प्रलोभनमा पार्न नयाँ मोडलको आइफोन प्रोम्याक्स १४ को फोटो देखाएर ठगीको निसाना बनाउने यो समूहले काठमाडौँस्थित विमानस्थल भन्सारमा सामान आइपुगेकोले भन्सार तिर्न खातामा ६ हजार रुपैयाँ पठाउनु भन्दै बैंक अकाउन्ट नम्बर र स्क्यान कोड पठाएर पैसा उठाउँदै आएका थिए ।

रकम ठगी गर्दै आएका पण्डित र यादवलाई प्रहरीले ललितपुरको कुपण्डोलबाट पक्राउ गरेर काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद लिई अनुसन्धान गरिरहेको छ ।

प्रहरीले उनीहरूको साथबाट नगद ४९ लाख ९५ हजार, एक सय ८३ थान सिम कार्ड, १२ थान एटीएम कार्ड र राउटर लगायतका सामाग्री बरामद् गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *