नेपाल । सातवटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई संघीय सरकारले आलिशान आवास भवन बनाएर हस्तान्तरण गरेको छ । ललितपुरको भैंसेपाटीमा निर्माण गरिएको भवन आइतबार मुख्यमन्त्रीहरूलाई हस्तान्तरण गरिएको हो । ७ वटा भवनमा १४ ब्लक छन् । तिनमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवाससहित सम्पर्क कार्यालय रहने छन् । प्रत्येक ब्लकमा दुई इकाई छन् । तीमध्ये एउटा प्रदेश प्रमुख र अर्को मुख्यमन्त्रीका लागि हो । ३ तल्लाको भवनमा बैठक कक्ष, योग अभ्यास कक्ष, स्वागत कक्ष, भान्सा कोठासम्मको व्यवस्था गरिएको छ।
शहरी विकास मन्त्रालयका अनुसार २७ रोपनी १२ आनामा निर्माण भएको भवनमा करिब ८५ करोड रुपैयाँ खर्च भएको छ । अहिले मुख्यमन्त्री र प्रदेश प्रमुख धापाखेलस्थित डाउनटाउन अपार्टमेन्टमा बस्दै आएका छन् । आवासको तालाचाबी पाएपछि सोमबारबाट मात्र अपार्टमेन्टको सामान सार्न थालिने विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक मचाकाजी महर्जनले बताए ।
यसअघि मुख्यमन्त्रीहरू र प्रदेश प्रमुखहरूलाई काठमाडौँ आउँदा बसोबासका लागि संघीय सरकारले आवासको व्यवस्थापन गर्दै आएको थियो । उनीहरूको बसोबासमा मात्र मासिक ७ लाख ७० हजार र वार्षिक ९२ लाख ४० हजार रुपैयाँ संघीय सरकारले बेहोर्दै आएको थियो ।
आइतबार सम्बन्धित मुख्यमन्त्री र प्रदेश प्रमुखलाई तालाचाबी दिएर प्रधानमन्त्री पुष्पकमल दाहालले आवास हस्तान्तरण गरे । भवनमा रहेर प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूले गर्ने सेवा प्रवाहले देशको संघीयता र त्यसको प्रभावलाई झल्काउने उनको भनाइ छ । ‘यी भवन निर्माणको विषयमा प्रश्न उठ्न सक्छन्, तर प्रदेशहरूको स्थायित्व बढाउने हिसाबले यी भवनमा गरिएको लगानी अर्थपूर्ण छ,’ प्रधानमन्त्री दाहालले भने, ‘संघीयता संस्थागत गर्ने बाटोमा एक कदम अघि अगाडि बढेको महसुस गरेको छु ।’ प्रदेश र स्थानीय तहको समन्वयले संघीयतालाई थप मजबुद गर्दै सुशासन कायम राख्न सकिने उनको दाबी छ ।
भवन हस्तान्तरण कार्यक्रममा उर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेत, कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ, सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्मा, वन तथा वातावरणमन्त्री वीरेन्द्र महतो, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साह, भौतिक पूर्वधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र शिक्षामन्त्री अशोक राईलगायत उपस्थित थिए ।