काठमाडौँ, ११ भदौ । वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न स्थानबाट पक्राउ गरेकाहरूलाई सोमबार सार्वजनिक गरिएको हो । प्रहरीले नवलपरासी देवचुली नगरपालिका–८ घर भई कठमाडाैँ टोखा नगरपालिका–३ बस्ने ३० वर्षीय समीर आलेमगर, रामेछाप उमाकुण्ड गाउँपालिका–१ घर भई काठमाडाैँ कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने ३५ वर्षीया शर्मिला सुनुवार, सल्यान कपुरकोट गाउँपालिका–३ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–१ बस्ने ५१ वर्षीय जगतबहादुर खड्का र कास्की पोखरा महानगरपालिका घर भई ललितपुर महानगरपालिका–१४ नख्खीपोट बस्ने ४० वर्षीया तारा गुरुङलाई सार्वजनिक गरेको छ ।
पक्राउ परेकामध्ये मगरले दुई जनालाई क्यानडाको प्रतिष्ठित मार्केटमा मासिक दुई लाख रुपैयाँ तलबमा काम लगाइदिने भन्दै पाँच लाख ४५ हजार रुपैयाँ ठगी गरेका छन् ।
त्यस्तै सुनुवारले एक जनालाई क्रोएसियामा फुड प्याकिङमा मासिक एक लाख रुपैयाँ तलबमा काम लगाइदिने भन्दै पीडितबाट पटक–पटक गरी दुई लाख रुपैयाँ ठगी गरेको, खड्काले एक जनालाई कुवेतमा बाइक राइडरमा मासिक ५० हजार रुपैयाँ तलबमा काम लगाइदिने भन्दै पीडितबाट पटकपटक गरी एक लाख ९४ हजार रुपैयाँ ठगी गरेको आरोप छ ।
यसैगरी गुरुङले एक जनालाई नेदरल्याण्डको पठाइ सुपर मार्केटमा मासिक एक लाख रुपैयाँ तलबमा काम लगाइदिने जनाउँदै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी तीन लाख ४५ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।