नेपालमा खेलबाट परिवार चलाउने अवस्था नहुँदा राष्ट्रिय खेलाडीहरूको आकर्षण अस्ट्रेलिया !
नेपालआईज
२३ माघ २०७९ १८:२०
नेपाल । पछिल्लो समय एकपछि अर्काे नेपाली फुटबल खेलाडीहरू विदेशिने क्रम जारी छ । विदेशिने नेपाली फुटबल खेलाडीहरूको पहिलो गन्तव्य अस्ट्रेलिया बन्दै गएको छ । केही महिनाभित्रै ३० भन्दाबढी खेलाडी अस्ट्रेलिया पुगिसकेका छन् ।
यो क्रम अहिले नै रोकिने अवस्था देखिँदैन । पछिल्लो पटक नेपाली राष्ट्रिय फुटबल टिमका भरपर्दा मिडफिल्डर विशाल राई पनि अस्ट्रेलिया पुगेका छन् । विशालले शहीद स्मारक ‘ए’ डिभिजन लिगको साविक विजेता मछिन्द्र क्लबबाट खेल्दै आएका थिए । उनलाई बिदाइ गर्न मछिन्द्रका पदाधिकारी तथा खेलाडीहरू विमानस्थल पुगेका थिए । मछिन्द्रका व्यवस्थापक अनिल श्रेष्ठले नै उज्ज्वल भविष्यको कामना गर्दै विशाललाई बिदाइ गरेका थिए
खासमा शहीद स्मारक ‘ए’ डिभिजन फुटबल लिगका लागि क्लबहरूले खेलाडीहरूलाई मासिक १ लाखसम्म पारिश्रमिक प्रदान गर्ने गरेका छन् । साथै फ्रेन्चाइज्ड फुटबल लिग (एनएसएल) का लागि पनि खेलाडीहरूले एउटै सिजनका लागि ३ लाखसम्म रकम पाउने अवस्था आएको छ । मोफसलको प्रतियोगिता खेले बापत पनि खेलाडीहरूले राम्रै आम्दानी गर्ने अवस्था रहेको छ । तर, नियमित रूपमा लिग तथा एनएसएलसँगै मोफसलका प्रतियोगिता हुन नसक्दा खेलाडीहरूले भने पर्याप्त खेल्न पाएका छैनन् । जसका कारण उनीहरूको आम्दानीको श्रोत नै बन्द भएको छ । फलस्वरूप खेलाडीहरू विदेश पलायन हुँदै गएका छन् ।
६ वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका नेपाली फुटबल खेलाडी जगजित श्रेष्ठले समयमा लिग तथा अन्य फुटबल गतिविधिहरू नहुन भएकाले खेलाडीहरूले परिवार पाल्नकै लागि भएपनि विदेशिने गरेको दाबी गर्ने गरेका छन् ।
अर्काेतर्फ अस्ट्रेलिया प्रस्थान गर्ने खेलाडीहरूले त्यहाँको नेपाली क्लबहरूबाट हप्ताको एक दिन खेल्ने तथा अन्य समय काम गरेर बिताउने गरेका छन् । जसका कारण उनीहरूले राम्रै कमाइ गर्न सकेका छन् ।
अस्ट्रेलियन नेप्लीज फुटबल संघका पूर्वअध्यक्ष डा. राजु मानन्धरले अस्ट्रेलियाका नेपाली फुटबल क्लबहरूले नेपाली खेलाडीहरूलाई खेल्नका लागि बोलाए पनि रोजगारको अवसरसमेत जुटाइदिने गरेको दाबी गर्छन् । मानन्धरका अनुसार अस्ट्रेलिया पुगेका फुटबल खेलाडीहरूले मासिक एक लाखसम्म बचत गर्न सफल भएका छन् ।
अर्काेतर्फ अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीलाई नेपालमै टिकाउने योजनासहित अघि बढिरहेको दाबी गरेपनि ‘ए’ डिभिजन लिग नै ३ महिनाभन्दा कम समयमा टुंग्याउने गरी फागुन १९ गतेबाट सञ्चालन गर्दैछ । जबकी केवल ३ महिना खेलेर खेलाडीहरूले परिवार पाल्न सक्ने अवस्था छैन ।
एन्फा पदाधिकारीहरू भने क्लबहरूले आर्थिक अवस्था तथा अन्य बाध्यताका कारण लिगलाई सकेसम्म चाँडो सक्न एन्फामाथि दबाब दिने गरेको दाबी गर्छन् । एन्फाका महसचिव किरण राईले क्लबहरूको आग्रह तथा दबाबका कारण लिग ३ महिनामै सीमित गर्नुपरेको बताए । उनका अनुसार कतिपय क्लबहरू यसपटक लिग नगर्नका लागि समेत दबाब दिइरहेका थिए । एन्फाका लिग निर्देशक संजिव मिश्रले पनि राईको भनाइलाई पुष्टि गरे । क्लबहरूले आर्थिक अवस्था कमजोर भएको भन्दै लिग चाँडो भन्दा चाडो सक्नका लागि आग्रह गरेको मिश्रले बताए । खेलाडीहरूले लिगपछि के गर्ने भन्ने चिन्तामा हुन्छन् । आम्दानीका अन्य विकल्प खोज्न खेलाडीहरू विदेशिन थालेका छन् ।