एसिया कप

एसिया कपमा आज नेपाल र भारत भिड्दै

एसिया कपमा आज नेपाल र भारत भिड्दै
नेपालआईज
१८ भदौ २०८० ६:३२

 

नेपाल । एसिया कप क्रिकेटमा सोमबार नेपाल र भारत भिड्दैछन् । श्रीलंकाको पल्लेकेले रंगशालामा हुने खेल नेपाली समय अनुसार सवा तीन बजे सुरु हुनेछ । समूह चरणको दोस्रो र अन्तिम खेलमा उत्रदै गर्दा दुवै टिमको नजर सुपर फोरमा हुनेछ ।

नेपालले विश्व क्रिकेटको ठूलो टिम भारतसँग पहिलो पटक भिड्न लागेको हो । दुवै टिम सोमबारको खेलमा जित निकाल्दै सुपर फोरमा पुग्ने लक्ष्यमा हुनेछन् । नेपाल र भारत रहेको समूहबाट तीन अंक सहित पाकिस्तान सुपर फोरमा प्रवेश गरिसकेको छ । वर्षाले पाकिस्तानसँगको खेल प्रभावित बनेपछि भारतसँग १ अंक छ ।

पहिलो खेलमा पाकिस्तानसँग पराजित बनेको नेपाल अंकविहीन छ । भारतीय टिम रोहित शर्माको कप्तानीमा मैदान उत्रनेछ भने नेपाली टिमको नेतृत्व रोहित पौडेलले गर्नेछन् । सोमबारको खेलसमेत वर्षाले प्रभावित हुने सम्भावना उच्च छ । सो अवस्थामा भारतले सुपर फोरमा आफूलाई लैजानेछ ।

तर नेपाल कुनै पनि हालतमा भारतसँग खेल्न चाहन्छ । उसले अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला राखेदेखि नै भारतसँग खेल्ने इच्छा लुकाएको छैन । एसिया कपले जुराएको भिडन्तलाई नेपालले कुनै हालतमा साकार बनाउने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *