जनवरी १५ मा नेपालको पोखरामा यती एयरलायन्सको नाइन एन-एएनसी एटीआर-७२ विमान दुर्घटनामा परी ७२ जनाको मृत्यु भयो । काठमाडौँबाट पोखरा जाँदै गरेको विमान दुर्घटनामा परेको थियो ।
प्राकृतिक सौन्दर्यताका कारण पर्यटकलाई लोभ्याउने पोखरामा भने विमान सञ्चालन जोखिमपूर्ण रहेको छ । भौगोलिक बनावट र मौसमका कारण विमान सञ्चालन जोखिमपूर्ण छ । नेपाल सरकारले विमान दुर्घटना न्यूनीकरण गर्न प्रयास जारी राखेपनि आइतबार भएको विमान दुर्घटना सन् १९९२ पछिको सबैभन्दा ठूलो दुर्घटना हो ।
चुनौतीपूर्ण भौगोलिक अवस्थिति
भौगोलिक बनावटले नेपाललाई रमणीय परिदृश्यहरू प्रदान गरेको छ । तर, उडान सञ्चालनका लागि अनेकौ चुनौतीहरू पनि छन् । भारत र चीनको बीचमा पर्ने नेपालमा विश्वका सर्वोच्च १४ हिमालमध्ये ८ छन् । सर्वोच्च शिखर सगरमाथाको देशमा अचानक हुने मौसम परिवर्तनका कारण विमान सञ्चालनमा कठिनाइ हुन्छ ।
हिमाली क्षेत्रमा रहेका विमानस्थलहरूमा छोटो ‘रनवे’ छन् । यस क्षेत्रमा कम सिट क्षमताका विमानहरू मात्र सञ्चालनका लागि उपयुक्त हुन्छन् । जसका कारण धेरै विमान सञ्चालन गर्ने कम्पनीहरू रहेका छन् । तर, उनीहरूले सञ्चालन गर्ने विमानहरूको अवस्था फरक फरक रहेका कारण सुरक्षा चुनौती बढाएको छ ।
एटीआर ७२ विमान नेपालमा प्रयोग हुने विशेष विमान हो । क्षेत्रीय रूपमा सञ्चालन हुने यस विमानको यात्रु क्षमता ४४ देखि ७८ जनासम्मको हुन्छ । यी विमानहरू फ्रान्सको एयरबस र इटालीको लियोनार्डोको संयुक्त लगानीले निर्माण गरेको हो । दुर्घटनामा परेको विमान भने १५ वर्षदेखि सञ्चालन रहेको थियो ।
एक बढ्दो र छिटो–परिवर्तन हुने उद्योग
नेपालले सन् १९९२ देखि निजी कम्पनीलाई विमान उडाउने अनुमति दियो । हाल नेपालमा रहेका २० वटा कम्पनीमध्येको एक हो, यती एयरलायन्स । यसले नेपालका विभिन्न १० स्थानमा उडान गर्दै आएको छ ।
आईकाओले रातो झण्डा उठाएपछि युरोपेली संघले २०१३ मा सबै नेपाली एयरलायन्सलाई युरोपमा उडान गर्न प्रतिबन्ध लगाएको थियो । त्यो प्रतिबन्ध अझै हटेको छैन र नेपाल ईयू एयर सेफ्टी लिस्टमा रहेको छ । दुखद क्षतिको रेकर्डका बाबजुद पनि नेपालले हवाई सुरक्षा सुधार गर्न आफ्नो प्रयासलाई तीव्र बनाएको छ ।
नेपालमा हवाई यात्रा सहज र किफायती हुँदै गएपनि भौतिक संरचना भने त्यसअनुसार निर्माण गर्न सकिएको छैन । जसका कारण एयरपोर्टहरूमा भीड बढ्ने, एयरलाइन्सहरूबीचको भाडामा प्रतिस्पर्धा हुने तर सुरक्षामा भने चुक्ने गरेको तथ्यांक छ ।
सन् २००० देखि हालसम्म भएका विमान वा हेलिकोप्टर दुर्घटनामा कम्तिमा ३ सय ५० जनाले ज्यान गुमाएका छन् ।
सुधारका लागि कडा मेहनत जारी
नेपाल सन् १९६० मा संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को सदस्य बन्यो । यस सदस्यताले देशलाई अन्तर्राष्ट्रिय महासन्धिहरू, आईकाओका नियमहरू, मापदण्डहरू र उड्डयन सुरक्षामा सिफारिस गरिएका अभ्यासहरू पालना गर्न बाध्य पार्छ ।
नेपालको उड्डयन उद्योगले सुरक्षा सुधार गर्न महत्वपूर्ण प्रयासहरू गरेको भएता पनि दुर्भाग्यवश सुरक्षा रेकर्ड अन्य नागरिक उड्डयन प्राधिकरणको आवश्यकतासँग मेल खाँदैन ।
विशेषगरी आईकाओले रातो झण्डा उठाएपछि युरोपेली संघले २०१३ मा सबै नेपाली एयरलायन्सलाई युरोपमा उडान गर्न प्रतिबन्ध लगाएको थियो । त्यो प्रतिबन्ध अझै हटेको छैन र नेपाल ईयू एयर सेफ्टी लिस्टमा रहेको छ ।
दुखद क्षतिको रेकर्डका बाबजुद पनि नेपालले हवाई सुरक्षा सुधार गर्न आफ्नो प्रयासलाई तीव्र बनाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाली उड्डयनमा सुरक्षा सुधार गर्न – जस्तै विमानस्थलहरूमा सुधार, सुरक्षा उपकरणको स्तरोन्नति र जोखिम प्रतिवेदनलाई प्रोत्साहन गर्दै सकारात्मक सुरक्षा संस्कृतिको विकासमा ध्यान केन्द्रित गरेको छ ।
सुरक्षा उपायहरूमा नेपालले गरेको उल्लेखनीय सुधार र अन्तर्राष्ट्रिय मापदण्डहरूको पालनालाई २०१८ मा आईकाओले मान्यता दिएको थियो । यद्यपि, देशले आफ्नो आकाशलाई सबैका लागि सुरक्षित बनाउनका लागि आफ्नो उड्डयन सुधारमा काम जारी राख्नुपर्छ । (नेपाली अनुवाद)
– Chrystal Zhang, Associate professor, RMIT University