क्यानबेरा । अस्ट्रेलियाको एसिटीमा रहेको गिब्राल्टार फल्स (झरना) बाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । गिब्राल्टार फल्सबाट खसेर २२ वर्षीय युवकको शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
साँझ ५.२५ मा एसिटी प्रहरीले गिब्राल्टार फल्समा युवक खसेको तथा उनलाई भेटाउन नसकेको जानकारी पाएको थियो ।
त्यसपछि टुगेरानोङ स्टेसनको प्रहरी, एसिटी एन्बुलेन्स सर्भिसको पारामेडिक्स, एसिटी फायर एन्ड रेस्क्यू सदस्य तथा टोल रेस्क्यू हेलिकप्टर खटाइएको थियो ।
६.०५ बजे युवक पानीमा फेला परेपनि उनलाई घटनास्थलमै मृत घोषणा गरिएको थियो । प्रहरीले उक्त घटनाका साक्षीलाई यथासिघ्र प्रहरीको सम्पर्कमा आउन आग्रह गरिएको छ ।
सात दिनभित्रै उक्त क्षेत्रमा भएको यो दोस्रो मृत्युको घटना हो । गत आइतबार १९ वर्षीय थोमस लिभिङस्टोनको गिब्राल्टार फल्सबाट खसेर मृत्यु भएको थियो । उनी झरनाको नजिकै रहेको पहाड चढ्ने क्रममा खसेको आशंका गरिएको छ ।